टेकम चन्द
मेरो घर सल्यान हो । म ८५ हजार रुपैयाँ तिरेर मलेशिया आएको हुँ । पाँच वर्ष भयो विदेश आएको । नेपालबाट मलेशियाको विमानस्थल छिर्दा सुरुमा त रमाइलै अनुभव भयो तर पनि घरको याद धेरै नै आउँथ्यो ।
कस्ले कतिखेर काममा लान्छ अनि कस्तो काम पाइने हो भनेर टेन्सन पनि भइरहेको थियो । त्यस्तो गर्मी ठाउँमा निकै गारो हुन्थ्यो । खाना खान जाँदा, पिसाव गर्न जाँदा पनि पासपोर्ट बुझाउनु पर्ने । खाना त्यस्तै महँगो, पैसा पनि धेरै थिएन ।
भोकभोकै पनि बसियो । नेपालबाट ल्याएका बिस्कुटहरु बाँडेर खाइयो । त्यसपछि कम्पनीको म्यानेजर आएर उद्दार गर्यो ।
त्यो दिन आइतबार थियो । हामीलाई त्यहाँबाट सिधै होस्टेलमा ल्यायो । त्यहाँ सबै नेपालीहरु नै रहेछन् । उहाँहरुलाई देख्दा खुसी लाग्यो । उहाँहरुले खाना बनाएर खुवाउनुभयो । उहाँहरुलाई भेटेपछि मनमा खुसि फर्किएको जस्तो लाग्दो रहेछ ।
मलेशियामा भनेजति सेवा सुविधा त पाएको छैन । तर पनि मैले केही हदसम्म आफ्नो जीवनको व्यवस्थापन गर्ने कोशिस गरेको छु । कम्पनीमा राम्रो घुलमिल भयो अनि राम्रो डिपार्टमेन्टमा परें । त्यसपछि केही राम्रो भयो ।
काममा त्यति समस्या भएन । हामी आएकै भोलिपल्टदेखि नै काममा लाग्यौं । हामीलाई तालिम पनि दिइयो । मेसिन चलाउन पनि त्यति धेरै गारो भएन । सबै नेपालीहरु एउटै हुँदैनन् । कतिपय त जाँड रक्सी खाएर हिँडिरहेका हुन्छन् । पारीतिर केटीहरु भएको ठाउँमा घुमिरेहका हुन्छन् । हामीले उनीहरुलाई धेरै सम्झाउने कोशिष गरेका छौं ।
यहाँ हाम्रो सल्यान सेवा समाज भन्ने संस्था छ । म पनि त्यसमा आवद्ध छु । हामी एकजुट भएर हाम्रो जिल्लाको लागि केही गर्नुपर्छ भनेर हामी अघि बढेका छौं र यो संस्थालाई अगाडी बढाइरहेका छौं । यो संस्थामा काम गर्ने र बचेको समयमा केही गरौं भन्ने साथीहरु हुनुहुन्छ । त्यसका लागि नै हामी संगठित भइरहेका छौं ।
नेपालबाट आउनु भएका सबै साथीहरुले पहिला आफ्नो कामलाई ध्यान दिनुहोला । त्यसपछि मात्रै बचेको समयमा साथीहरु भेट भएर दुःख सुखका कुराहरु साट्नुहोला ।
यहाँ आएर बसेर केही कुरा बुझिसकेपछि मलाई के लाग्छ भने मलेशिया त नेपाल भन्दा पनि कंगाल छ । तर हामी यिनीहरुभन्दा केही माथि नै छौं । यिनीहरुसँग न आफ्नो घर छ न जग्गा जमिन नै । खाली रोजगारी छ धन छ त्यती हो ।
एउटा मलेशियनसँग कुरा हुँदा त्यसले मलाई नेपालीहरु रुखमुनी बस्छौ पानी पिएर बाँच्छौ भनेको थियो । म के भन्छु भने हामीले यहाँ आएर गर्ने दुःख नेपालमा गर्ने हो भने हाम्रो देश पनि पक्कै धनि बन्ने थियो ।
एकपल्ट म बिरामी भएको थिएँ । त्यतिबेला मलाई मेरो बोसले मेरो उपचार गरी मलाई सबै सेवाहरु दिएको थियो ।
मलेशियामा काम गर्न धेरै नै गारो छ । धेरै नेपालीहरु गैरकानुनी रुपमा काम गरिरहेका छन् । त्यसले धेरैलाई समस्या परेको छ । नेपालबाट मलेशिया आउँदा सबैले सीप सिकेर आउनुपर्छ । नेपालबाट आउँदा कन्ट्राकमा हुनुहुन्छ कि कम्पनीको कलिङ भिसामा हुनुहुन्छ, त्यो चैं बुझ्न जरुरी हुन्छ । त्यसमा सबैले ध्यान दिनुपर्छ ।
No comments :
Post a Comment