Ujyaalo
इन्द्रराज कपाली
मेरो नाम इन्द्रराज कपाली हो । घर चित्लाङ ४ मकवानपुरमा पर्छ । २२ बर्षको भएँ । कतार गएको थिएँ । एक महिनाअघि मात्रै फर्केको हुँ । कतार त ठिकै छ । तर आफ्नो कम्पनी नराम्रो भएर हो कि कतार मलाई राम्रो लागेन । तलव पनि समयमा नदिने । दुई महिना काम गर्दा एक महिना मात्रै तलव दिने । अर्को महिनाको तलव गायव बनाइदिन्थ्यो । कम्पनीले परिचयपत्र पनि बनाइदिएको थिएन । परिचयपत्र नहुँदा दुई दिन जेलमा पनि बसें ।
नेपालबाट जाँदा भनेको काम दिइएन । घरभित्रको काम भनेका थिए । तर, बाहिरको काममा लगाइदियो । धेरै दुःख पाइयो । सम्झौता पत्रमा १ हजार रियाल तलव हुने भनिएको थियो । १ हजार रियालसँगै ओभरटाइम गर्दा १२ सय हुन्छ भनिएको थियो । त्यसमध्ये खानबस्नमा खर्च गर्दा पनि १ हजार रियाल जोगाउन सकिन्छ भनेका थिए उनीहरुले । तर उता पुगेपछि ९ सय रियालको कागजमा सही गराएर साढे आठ सय रियाल मात्रै दिन्थ्यो । त्यस्तो कागजमा सहि गर्दिन भन्यो भने उनीहरुको भाषा(अरवी) मा तथानाम गाली गथ्र्यो । कठालो समातेर सहि गर्न लगाउँथ्यो । बेकारमा किन अर्काको देशमा कराइरहनु भनेर चुपचाप सहि गरिदिन्थें । नेपालमा दुःख परेर आएको हो, अब जे जे दुःख परे पनि कमाएर जानुपर्छ भन्ने लाग्थ्यो । मलाई मात्रै होइन्, अरु साथीको हाल पनि त्यहि थियो ।
कतार पुग्नेबित्तिकै परिचयपत्र दिनुपर्ने भएपनि गएको १४/१५ महिनासम्म परिचयपत्र दिएनन् मलाई । एकदिन काम गर्ने ठाउँमा गाडी पर्खेर बसेका थियौं, त्यतिबेलै प्रहरी आयो । परिचयपत्र नभएपछि मलाई पक्रेर जेल हाल्यो । त्यतिबेला मलाई लैजाने एजेन्ट पनि कतारमै थियो । मैले फोन गरेर मलाई परिचयपत्र बनाइदिएको छैन कम्पनीले, म अहिले जेलमा छु भनें । त्यसपछि एजेन्टले मुदिर(म्यानेजर) लाई फोन गर्यो क्यारे, जेलबाट निकाल्यो । त्यसको चारपाँच महिना पछि मात्रै परिचयपत्र बनाई दियो । परिचयपत्र नहुँदा धेरै अप्ठेरो पर्छ । साथीहरुलाई भेट्न जान पनि पाईदैन । घुमघाम गर्न पाईदैन । कोठाबाट बाहिर निस्कनै नमिल्ने । बाहिर निस्कने वित्तिकै प्रहरीले पक्रेर लैजाने । एम्बेसी (दूतावास) जान पनि नपाइने । परिचयपत्र बिना केहि गर्न नपाईने रहेछ त्यहाँ ।
कतारमा २७ महिना बसेर फर्किएको हुँ । घरमा धेरै समस्या थियो । कमाई थिएन । कमाएर बचत हुन्छ भनेर म कतार गएको हो । यता पनि दुःखसुख केहि गरिरहेकै थिएँ । घरको अलिअलि ऋण पनि बाँकी थियो । ऋण तिर्नका लागि पनि विदेश गएको हो । नेपालमा मेसनको काम गर्थें । थोरैतिनो कमाइ भएपनि बचत भएन । यहाँ कमाइ त हुन्थ्यो, तर काम नपाउँदा १०–१५ दिन हल्लिएर बस्नुपथ्र्यो ।
नेपालबाट जाँदा गार्डेनमा भनेर लगेको थियो । तर उता पुगेपछि रोडतिरको काममा लगाइदियो । रोडतिर हावा बेस्सरी आउँथ्यो । घाम हुन्थ्यो त्यस्तै । पानी पनि तातो तातो हुने । सप्लाइमा पनि काम गर्न पठाउँथ्यो । सप्लाई भनेको चाहिँ आफ्नो कम्पनीमा काम नहुँदा अर्को कम्पनीको काम गर्नका लागि पठाउने । त्यहाँ काम गर्दा झनै धेरै पेल्ने । काम गरिरहे पनि गाली गरिरहने ।
सप्लाईमा काम गर्दा भनेको समयमा भनेजस्तो पानी पनि खान नपाइने । खाना पनि समयमा खान नपाइने । घाम पनि धेरै तातो लाग्थ्यो । पानी ल्याइरहन्थ्यो । कुलर पनि ल्याइदिन्थ्यो । तर पनि पानी तातो भइरहने । काम गरेको ठाँउबाट अलि टाढै पानी राखिएको हुन्थ्यो । त्यसैले भनेको बेला पानी खान नपाइने । थाकेका बेला पानी खान जाँदा कति साथीहरु त हिँड्दा हिँड्दै बेहोस पनि हुन्थे ।
त्यसपछि म २–३ महिना बिरामी भएँ । गर्मीले पो हो की ? एयर कण्डिसन त हुन्थ्यो, तर बिग्रिरहन्थ्यो । कोठाको एसी बिग्रिदा मुदिरलाई फोन गर्यो भने बनाइदिन्छु बनाइदिन्छु भन्थ्यो, तर बनाइदिन्नथ्यो । एसी बिग्रिदा कोठामा धेरै गर्मी हुन्थ्यो । बाहिर सुत्यो भने रुघाखोकी लाग्थ्यो । त्यही भएर बिरामी भएको हो । उपचार गर्न २–३ दिन कोठामा आराम गर्दा पनि तलव काटिदियो मेरो । उपचार पनि गरिदिँदैनथ्यो कम्पनीले । आफैंले साथीभाईसँग खर्चपानी सापटी गरेर उपचार गरें ।
धेरै साथीसँग भेटघाट भयो । धेरैलाई नराम्रो अवस्थामा भेटें मैले । एकजना साथीलाई मसँगै प्रहरीले पक्रिएको थियो । उसको पनि जीउमा घाउ भएको रहेछ । परिचयपत्र पनि बनाइदिएको थिएन । उसले ८ महिनाको तलव पनि पाएको थिएन । उसलाई जेलबाटै नेपाल पठाउने कुरा भइरहेको थियो । पछि के भयो थाहा भएन । अरु साथीहरु थुप्रैले दुःख पाएका थिए ।
तलव नदिँदा हामी ड्युटी जाँदैनौ भन्दा धेरै हप्काउँथ्यो मुदिरले । काममा जा भन्थ्यो । गएन भने तलव काटिदिन्छु भन्थ्यो । काम नगर्दा खानका लागि पैसा पनि हुँदैनथ्यो । त्यसैले जसरी भएपनि काम गर्न जाउँ भन्ने हुन्थ्यो । जे जे भएपनि कमाएर जानुपर्छ भन्ने हामी सोच्थ्यौं ।
बिदेशमा बस्दा घरपरिवारको याद धेरै आउँछ । बिरामी भएको बेलामा धेरै याद आउने । बिरामी भएर तलमाथि भइयो भने घरपरिवारमा कस्तो हुन्छ होला जस्तो लाग्ने । घरमा पनि मेरो धेरै चिन्ता गर्नुहुन्थ्यो दाइ भाउजुहरुले । मेरो बच्चैबेला देखि आमा पनि हुनुहुन्न । बा पनि अस्ति नै बित्नुभो । बा बित्दा कम्पनीले नेपाल आउन टिकट दिएन । त्यसबेला आउन पनि पाइएन । दाजुभाइसँग रमाइलो गरेको, सुखदुःखको कुरा गरेको, रमाइलो कुराकानी गरेको कुराको धेरै याद आउने । बिरामी हुँदा मन धेरै दुख्थ्यो ।
बा बित्नु भन्दा चारमहिना अघि नै नेपाल जाने टिकट मागेको थिएँ । त्यसबेला उहाँ बिरामी हुनुहुन्थ्यो । मलाई टिकट नदिएपछि घर आउन पाइन । पछि बा बित्नुभयो । बा बितेपछि मात्रै कम्पनीले मलाई बिदा दियो । छुट्टिमा गएर फेरी आउँछु भनेपछि मात्रै बिदा दिएको हो मलाई । अब म फर्केर त्यहाँ जान्न । मलाई कम्पनी पनि राम्रो लागेन । साथीहरु पनि धेरै बिजोगले बसिरहेका छन् ।
विदेशमा दुःख गर्नै गएको थिएँ । तर दुःख गरे अनुसार मेरो प्रगति भएन । खर्च पनि धेरै भयो । जाने बेलामा पनि ऋण लिएर गएको थिएँ । केही हुन्छ भनेर ऋण लिएर गएको हो । नराम्रो ठाउँमा परेर फसिहालियो । नराम्रो कम्पनी रहेछ । जानुअघि धेरै नभएपनि हल्काफुल्का कमाएर ल्याउँला भन्ने सोच थियो । दुई तीन बर्ष बसेर आउँला भन्ने थियो । त्यसपछि यतै आएर केहि गरेर जिन्दगी बिताउँला भन्ने सोचेको थिएँ । दुःखै गरेर आउँला नि दुईतीन बर्ष के भयो र भन्ने सोचेको थिएँ । अलिअलि कमाइयो भने नुनतेल खाने पैसा हुन्छ भनेर गएको थिएँ । अब राम्रो कमाइने ठाउँ पाएँ भने अरु देश जान सक्छु तर कतार चाहिँ जान्न । बिदेश जान पाइएन भने आफ्नै देशमा हातमा भएको सीप चलाएर खाने बिचार छ ।
रीतु थेबेसँग गरिएको कुराकानीमा आधारित ।
No comments :
Post a Comment