आश गुरुङ/उज्यालो ।
जिल्ला प्रहरी कार्यालय मनाङले तल्लो मनाङको धारापानीदेखि माथिल्लो मनाङको मनाङ गाउँसम्म गाँजा फाँड्ने अभियान थालेको हो ।
अभियान अन्तरगत सदरमुकाम चामे क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मनाङ, तल्लो मनाङको दानाक्यूदेखि धारापानी क्षेत्रसम्म सीमा प्रहरी चौकी धारापानी र सीमा प्रहरी चौकी तालले गाँजा फाँडेको छ । माथिल्लो मनाङ क्षेत्रमा सीमा प्रहरी चौकी हुम्डेको संयोजनमा गाँजा फाँडिने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन शुरु भएसंगै गाँजा फाँड्न थालिएको बताउनुभयो ।
विदेश तथा स्वदेशी पर्यटकले पदमार्गमा आगु औषध सेवन गर्ने र त्यसमा पदमार्ग वरपरका गाँजा प्रयोग भएको पाईएकाले पदमार्ग क्षेत्रका सवै गाँजा फाँड्ने अभियान थालेको रेग्मीले बताउनुभयो । उहाँले दशैँ अगावै मनाङका सवै ठाउँमा रहेको गाँजा फाँड्ने अभियान लिएर अघि बढेको समेत बनाउनुभयो ।
पर्यटक आउँदा लागूपदाथ लिएर आउन नपाउने र पदमार्ग क्षेत्रका गाँजालाई बनाएर सेवन गरेको भेटिएकाले उनीहरुलाई सम्झाइबुझाई समेत गरिएको प्रहरी श्रोतले बताएको छ । स्वतस्फूर्त आएका गाँजाका बोटलाई स्थानीयले संरक्षण गरेको पाईएको र यसबाट स्थानीयले लागू औषध बनाएर बेच्ने गरिएकाले पनि अभियानै चलाएर गाँजा फाँडेको प्रहरीले जनाएको छ ।
पदमार्ग वरपर रहेका गाँजालाई पर्यटक संगसंगै स्थानीयवासिन्दाले समेत प्रयोग गरेको भेटिएको प्रहरी श्रोतले जनाएको छ । पदमार्गमा लागु औषधको सेवनले पदमार्गको गरीमा घटाएको भन्दै यसवर्षदेखि यस्तो अभियान थालिएको मनाङ प्रहरी प्रमुख रेग्मीले बताउनुभयो ।
प्रहरीले मनाङलाई लागूऔषध मुक्त जिल्ला बनाउनका लागि पनि थालनी गरेको प्रहरीको दावी छ । मनाङमा व्यवसायिक रुपमा कसैले गाँजा नरोपेको र स्वतःस्फूर्त आएका गाँजाको बोटबाट लागूऔषध बनाएको जानकारी आएकाले यस्तो कार्यलाई निरुत्साहित गर्न प्रहरीले छुट्टै टोली नै खटाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । पर्यटक सँगसँगै स्थानीय पनि लागूऔषधको कुलतमा नफसोस् भन्ने उद्देश्यले अभियान संचालन गरेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध सेवन तथा प्रयोग गरेको पाईएमा कारवाही समेत गर्ने जनाएको छ ।
No comments :
Post a Comment