- Ujyaaloonline
।काठमाडाै, भदाै १६ - पण्डितले जाँडरक्सी पिउन र चुरोट तान्न मिल्ने कि नमिल्ने ? जाँडरक्सीको त कुरै छाडौं, चुरोट तमाखु छुन पनि हुँदैन । स्वयं पण्डितहरुले नै भनेको कुरा । तर केही पण्डित र पुरोहित यस्ता छन्, जजमानले थाहा पाउने गरी नै भट्टि पस्छन् । चुरोट नतान्ने पण्डित, पुरोहित त औंलामा गन्न सकिने मात्र होलान् ।
सम्मेलनले आचारसंहिता नै बनायो । आचारसंहितामा पण्डितहरुको टुपी, शिखा, जनै, निधारमा टीका चन्दन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै जाँडरक्सी पिउने, चुरोट सूर्ति खानेलाई पण्डितको मान्यता नदिने उल्लेख छ । यस्तै छोराछोरीलाई धर्म, संस्कृति र संस्कारको शिक्षा दिनुपर्ने व्यवस्था पनि गरिएको छ । पैसा उठाउने मात्रै उदेश्य लिएर गरिने यज्ञ पुराणलाई निरुत्साहित गर्न पनि पण्डितहरु सहमत भए ।
धर्म, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं ज्योतिषीहरुले जथाभावी गर्ने गरेको गुनासो बढेपछि उनीहरुको लागि आचारसंहिता तयार पारिएको हो । आचारसंहिता कडाईका साथ लागू गरिने राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव कृष्ण शास्त्रीले बताउनुभएको थियो ।
तर अहिले यो आचारसंहिता कहाँ पुग्यो अरु पण्डितहरुलाई थाहै छैन । ‘नियम कसले पालना गर्छन् र यहाँ’ वरिष्ठ ज्योतिष पण्डित डा. सूर्यप्रसाद ढुंगेलले उज्यालोसित भन्नुभयो, ‘तपाईंले भनेजस्तो जाँडरक्सी खाने पण्डित पनि छन् भन्ने गुनासो हामीले पनि सुनेका छौं ।’
सबैले पढ्नुपर्छ र धर्मकर्म जानेपछि मात्र पुरोत्याईं गर्नुपर्छ भन्ने कुरामा सुधार हुन थालेपनि धेरै कुरामा सुधार हुन बाँकी रहेको उहाँले बताउनुभयो । त्यसैले पुरोहित, पण्डितहरुलाई झक्झक्याउन काठमाडौंमा फेरि दोस्रो पण्डित सम्मेलन हुन लागेको छ ।
पूजाविधिमा शुद्धता र स्पष्टता ल्याउने, साँस्कृतिक र धार्मिक निर्णयमा एकरूपता ल्याउने, सन्देह र भ्रमको निराकरण गर्ने, धार्मिक अनुष्ठानमा दिशानिर्देश गर्नेे, विकृति र कुसंस्कृतिमा सुधार र परिष्कार ल्याउने, धर्मसंस्कृतिको संरक्षण र सम्बर्धन गर्ने तथा धार्मिक र जातीय सद्भावको अभिवृद्धि गर्ने सम्मेलनको लक्ष्य रहेको संयोजक भरत शर्माले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपाल र भारतका गरी झण्डै दुई सय पचास पण्डितको सहभागिता रहने छ ।
No comments :
Post a Comment