हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

दुर्घटना बढेको बढ्यै

No comments :


 सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन । जसले दुर्घटना र त्यसबाट सिकार हुनेको संख्या बढेको बढ्यै छ । चितवनबाट विमल खतिवडा, बाराबाट लक्ष्मी साह, पर्साबाट शंकर आचार्य, रौतहटबाट शिव पुरी, भैरहवाबाट माधव ढुंगाना, कपिलवस्तुबाटमनोज पौडेल, बुटवलबाट अमृता अनमोल र हेटौंडाबाट प्रताप विष्टको रिपोर्ट :
पाँच वर्षअघि बुटवलको फूलबारीबाट वनभोज खाएर फर्किरहेका भरतपुर १२ स्थित हिल बर्ड आवासीय विद्यालयका छात्रछात्रा सवार बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मुकुन्दपुर ६ मा दुर्घटना हुँदा ४ शिक्षक, १८ विद्यार्थी र १ सहयोगीको मृत्यु भएको थियो । ६० विद्यार्थी घाइते भएका थिए । ४२ जना क्षमताको बसमा ८० भन्दा बढी सवार थिए । सिटको बीचमा लामा बेन्च राखेर विद्यार्थी कोचिएको थियो । त्यसबेला प्रहरीको अध्ययनअनुसार धेरै यात्रु र तीव्र गतिले बस खसेको थियो ।
मकवानपुरबाट राजधानी प्रवेश गर्ने हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा जिप दुर्घटनामा ३ वर्षअघि तत्कालीन वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटासहित २ को मृत्यु भयो । साँघुरो र जोखिमयुक्त मोटरबाटोबाट निजी जिप खस्दा देवकोटा र डा. राजेश पन्तको मृत्यु भएको थियो । भीमफेदी-कुलेखानी सडक खण्डको जुरिखेतमा जिप १ सय मिटर तल झरेको थियो । काठमाडौंबाट हेटौंडा आइरहेका बेला घटना भएको थियो । जोखिमयुक्त तथा साँघुरो मोटर बाटोमा पहिलोपटक जिप चलाएका चालकले भेउ नपाएर दुर्घटना भएको थियो ।
त्यस्तै मकवानपुरकै हेटौंडा-कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्डमा ५ महिनाअघि ट्याक्सी दुर्घटनामा ६ को मृत्यु भयो । चालक घाइते भए । काठमाडांैबाट हेटौंडा आइरहेको बा१ज३९९० नम्बरको भाडाको ट्याक्सी सडकबाट १ सय ५० मिटर तल खसेको थियो । यात्रु २ परिवारका थिए । दुर्घटनामा मोरङ्ग, बेतरिया ३ की ३५ वर्षीया दुर्गा पौडेल, उनका ११ वर्षीय छोरा प्रज्ज्वल, तीन वर्षीया छोरी प्राञ्जली, बहिनी दैलेख घर भई काठमाडौमा बस्ने २६ वर्षीया कुसुम बिष्ट, उनका १० वर्षीय छोरा उज्ज्वल, ४ महिनाकी छोरीको मृत्यु भएको थियो । गत असार २६ गते वीरगन्ज बाइपासअन्तर्गत बसपार्क चोकमा ना३ख ३१०० नम्बरको बसले बारा, दहियार ५ की ४५ वर्षीया पैदलयात्रु फूलमाया भक्तिलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भयो ।
त्यसको ३ दिनपछि ब्रम्हचोकनजिक ना३ख१०६९ नम्बरको बसले ना११प७०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा त्यसमा सवार स्थ्ाानीय ४० वर्षीया मोस्यिम नेशाको मृत्यु भयो । उक्त घटनाको २ दिनपछि असार ३२ गते रक्सौलबाट यात्रु बोकेर आउँदै गरेको ना१ह४३२ नम्बरको टेम्पोलाई तीव्र गतिमा पछाडिबाट आउँदै गरेको ना३ख३९२५ नम्बरको ट्रकले बाइपास नगवा चोक नजिक ठक्कर दिंदा सनाखत नभएका ६ वर्षीय नाबालकसहित २ टेम्पो यात्रुको मृत्यु भयो । ८ सख्त घाइते भए । उदाहरणबाट प्रस्ट हुन्छ, दुर्घटनाले धनी, गरिब, ठूलो र सानो पेसा भनेर विभेद गर्दैन । मुलुकका सहरी क्षेत्रका सडकको अवस्था बिजोग अवस्था छ । ग्रामीण सडक जीर्ण छन् । साँघुरा भत्केका सडकमा मनपरी सवारी हाँक्ने गरिएको छ । ट्राफिक नियम पालना हँुदैन । सवारीको गतिमा एकरूपता छैन । अधिकांश घटनामा चालकको लापरबाही मुख्य कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाएका छन् । बटुवा र हलुका सवारी चालकका कारण ठूला दुर्घटना हुने गरेका छन् ।
दैनिक दुर्घटना
चितवनमा बजार क्षेत्र बढी प्रभावित छ । सबैभन्दा धेरै भरतपुर ओरालोमा दुर्घटना हुने गरेको । तीव्र गतिमा सवारी गुडाउनाले जोखिम बढेको हो ।  चेपुवामा परेर आवजावत गर्ने सिकार बन्ने गरेका छन् । साइकल, स्कुटर र मोटरसाइकलमा ओहोरदोहोर गर्ने मारमा छन् । व्यस्त नारायणगढ-मुग्लिन सडक खण्डमा दैनिक दुर्घटना हुने गरेका छन् । सडक डिभिजन भरतपुरका अनुसार सडकको चौडाइ ५ देखि ६ मिटर छ । पहाडलाई खोपेर निर्माण गरिएकाले साँघुरो छ । घुम्ती बढी छन् । बीचबीचमा निर्माण गरिएका मोटरवेल पुलको संख्या बढी छ । जसले गर्दा दुर्घटना बढी हुने गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार एक वर्षको अवधिमा नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वीराजमार्गको मौवाखोलासम्मको भागमा ९१ वटा ठूला दुर्घटना भए । २९ जनाले ज्यान गुमाए । २ सय ५८ जना घाइते भए ।
सबैभन्दा धेरै ३२ ट्रक दुर्घटनामा परे । २५ मोटरसाइकल, २१ बस, १२ माइक्रो र एक एम्बुलेन्स दुर्घटनामा परे । यो सडकमा दैनिक ५ हजारदेखि ६ हजार ठूला साना यातायात गुड्छन् । यातायातका लागि ३ लेनको सडक आवश्यक छ तर यहाँ १ लेन सडक पनि पूरा छैन । जिल्ला प्रहरीका अनुसार ८२ जनाले ज्यान गुमाए । जसमा ६४ जना पुरुष, १२ जना महिला र ६ जना बालकको मृत्यु भएको हो । अधिकांश दुर्घटना चालकको लापरबाहीले गर्दा हुन्छ । 'दुर्घटना नभएको दिन हुँदैन,' जिल्ला प्रहरीका डिएसपी शान्तिराज कोइरालाले भने, 'तर मानवीय क्षति कम छ ।' उनका अनुसार दैनिक ५ देखि ७ दुर्घटना हुन्छन् । सडकको अवस्था, चालकको लापरबाही र अस्वस्थ प्रतिस्पर्धाले गर्दा दुर्घटना बढेको कोइराला बताउँछन् । त्यस्तै जथाभावी चालक अनुमतिपत्र वितरणले गर्दा समेत
दुर्घट्ना बढ्ने गरेको छ ।
कमजोर कानुन
दुर्घटनाबाट आर्थिक, भौतिक नोक्सानीले स्थिति भयावह हुँदा त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी प्रयास हुन सकेको छैन । दुर्घटना निम्त्याउने र कमजोरी गर्नेको हकमा राज्यले ट्राफिक प्रशासनलाई २ सयदेखि १ हजारसम्म्ा जरिवाना मात्र तोकेको छ । दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा १२ हजार धरौटीमा छुट्ने कानुनी व्यवस्था छ । जिल्ल्ाा प्रहरी बाराका अनुसार गत वर्ष ३५ वटा सवारी ज्यानको मुद्दा चलेको थियो । जसमा अधिकांश धरौटीमा रिहा भए । यसले दुर्घटना कम गराउने नभई बल पुगेकोे प्रहरी अधिकारी बताउँछन् । 'लाइसेन्स, सडकमा सांकेतिक ट्राफिक चिन्ह र जरिवाना प्रभावकारी नहुँदा दुर्घटना बढेको पाइन्छ', ट्राफिक प्रहरी निरीक्षक सन्तोष पाठकले भने, 'सडक विभाग तथा स्थानीय निकायको सडक मर्म्ातमा ध्यान नजानु, प्रहरी र ट्राफिकसँगै राज्यको कारबाही नीति फितलो भएकाले समस्या बढेको हो ।' दुर्घटना कम गर्न र सवारी चापबाट जोखिम घटाउन सवारीको व्यवस्थापन, सडकको निर्माण र मर्मत तथा गुणस्तर विस्तार गरी सडक नीति बनाएर ट्राफिक नियमलाई पाठ्यक्रमको विषयका रूपमा विकास गरिनुपर्ने उनले सुझाए । दुर्घटनाको तथ्याङ्क केलाउँदा सवारीको मेसिनरी गडबडी, ओभर लोड, साँघुरो सडक, मापसे, ट्राफिक नियम पालनालगायत अभावले अधिकांश दुर्घटना हुने गरेको छ । बारामा गत वर्षमा ९४ सवारी दुर्घटना भएका थिए । जसमा २८ ले ज्यान गुमाए भने २ सय घाइते भए ।
दुर्घटना दोब्बर
तीव्र गति, सवारी चालकको लापरबाही तथा सडकको दुरवस्थाका कारण पर्सामा सवारी दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै छ । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दोब्बर दुर्घटना भए । सदरमुकाम वीरगन्ज, सुख्खा बन्दरगाह परवानीपुर लिंक रोडमा अधिकांश सवारी दुर्घटना हुने तथ्यांकले देखाएको छ । बाइपास सडक, वीरगन्ज पथलैया सडक खण्ड र सुख्खा बन्दरगाह परवानीपुर लिंक रोडमा बढी भएको जिल्ला ट्राफिकले जनाएको छ । ज्यान गुमाउनेमा बढी मोटरसाइकल चालक छन् । उनीहरूलाई मालवाहक ट्रक/टि्रपर तथा बसले ठक्कर दिएको पाइएको छ । जिल्लाको ग्रामीण भेगमा पक्की सडक नभएकाले तुलनात्मक दुर्घटनामा ज्यान गुमाउनेको संख्या कम छ । आर्थिक वर्ष २०७०/०७१ मा जिल्लामा कूल १ सय २७ सवारी दुर्घटना भए । तिनमा २८ को मृत्यु भयो । मृत्यु हुनेमा १७ पुरुष, ५ महिला र ६ बालक थिए । त्यसैगरी दुर्घटनामा ८२ जना सख्त घाइते भएका थिए । अघिल्लो आर्थिक वर्षमा जिल्लामा ६६ सवारी दुर्घटनामा १४ को ज्यान गएको थियो । ट्राफिक प्रहरी नायब निरीक्षक भोलामानसिंह अधिकारी दुर्घटना दोब्बर बढ्नुमा कुनै एउटै कारण मात्र जिम्मेवार नरहेको बताउँछन् ।
चालकको लापरबाही
रौतहटमा पश्चिमबाट पूर्व आउँदै गरेको एक 'स्कुटी' बुधबार राति पूर्वपश्चिम राजमार्गको लमाह खण्डमा दुर्घटना हुँदा चालक पासाङ घिसिङ गम्भीर घाइते भए । तीव्र गतिका कारण दुर्घटनामा परेको ट्राफिकले जनायो । उनको राजधानीमा उपचार भइरहेको छ । रामजार्गमा हुने अधिकांश दुर्घटना चालकको लापबाहीले हुने गरेका छन् । सवारी चालकको लापरबाहीले दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी
निरीक्षक शिव मुखियाले जनाए । उनका अनुसार साउनदेखि भदौसम्म ६ दुर्घटना भए । ती दुर्घटनामा ३ जनाको मृत्यु भयो । १७ घाइते भए । उक्त अवधिमा ३ हजारलाई कारबाही गरेको जिल्ला ट्राफिकले जनाएको छ । चलकको लापरबाही, ट्राफिक नियम पालना नगर्ने, ओभरटेक, बाटो काट्ने यात्रुको लापरबाहीले हुने गरेको मुखियाले दाबी गरे । सडक खुला देखेर तीव्र गतिमा सवारी चलाउने गरेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनले जनाए । जिल्ला ट्राफिकले गत आर्थिक वर्षमा मात्र २२ हजार सवारीलाई कारबाही गरेको छ । उनीहरूबाट ५७ लाख ७४ हजार ९ सय ५० राजस्वसमेत असुलेको जनायो । त्यस वर्षमा २० जनाको मृत्यु भयो । ६१ यात्रु घाइते भएका थिए ।
मापसे जाँचले कमी
कपिलवस्तुमा नियमित मादक पदार्थ सेवन -मापसे) जाँच गर्न थालेपछि दुर्घटनामा कमी आएको छ । नेपाल र ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि कम भएका हुन् । गत आव ०७०/७१ जिल्लामा ४७ दुर्घटना भए । ४८ को मृत्यु भयो । आव ०६९/७० मा ५० सवारी दुर्घटना भए । ५० को मृत्यु भयो । तीव्र गतिमा सवारी चलाउनु मुख्य कारण भएको ट्राफिक प्रहरी
निरीक्षक वसन्त पाठकले बताए । २ वर्षअघि मापसेका कारण ५० प्रतिशत दुर्घटना हुने गरेका थिए । अहिले मुस्किलले ५ प्रतिशत हुने गरेको छ । राति चालक निदाउँदा र छाडा चौपायाका कारण हुने गरेका छन् । मापसे जाँचलाई नियमित बनाएपछि दुर्घटना धेरै नियन्त्रणमा आएको उनले बताए । राजमार्गमा न्यूनतमदेखि अधिकतम कति गतिसम्म सवारीसाधन सञ्चालन गर्ने नीति बनाउनु आवश्यक रहेको ट्राफिक हवल्दार जितबहादुर बिसीले बताए । सीमित ठाउँमा सडक कार्यालयले चलाउने गति निर्धारण गरे पनि ८० प्रतिशत ठाउँमा सीमा नतोकिँदा दुर्घटना हुने गरेको छ ।
गम्भीर प्रकृतिका धेरै
रुपन्देहीमा बढ्दो सहरीकरण, चालक र यात्रुमा ट्राफिक चेतना कमीले गम्भीर प्रकृतिका दुर्घटना बढेका छन् । जिल्ला ट्राफिकका अनुसार आव २०७०/०७१ मा जिल्लामा भएका ६२ दुर्घटनामा ४२ ले ज्यान गुमाए । तिनमा ४१ पुरुष, ७ महिला र ४ बालबालिका थिए । ५१ जना गम्भीर घाइते भए । गत साउनमा भएका ४ दुर्घटनामा १ पुरुष र १ बालिकाले ज्यान गुमाए । यो तथ्यांक बुटवल नगर क्षेत्र, देवदह, शंकरनगर, मणिग्राम र करैयाबाहेकको क्षेत्रको हो । बालबालिकाको मृत्यु सडक पार गर्ने क्रममा ठक्करबाट हुने गरेको छ । 'सवारीसाधन चलाउँदा चालक सचेत छैनन् भने यात्रुको लापरबाही पनि उत्तिकै छ', ट्राफिक प्रहरी निरीक्षक नवराज पोखरेलले भने, 'चालक, यात्रु र सर्वसाधारणमा ट्राफिक जनचेतना कमी छ ।' चालकले सवारीसाधन चलाउँदा धूमपान गर्ने, एउटा हातले मोबाइलमा कुरा गर्ने, सँगै सिटको वा यात्रुसँग गफ गर्ने र ट्राफिक संकेतका बारेमा जानकारी नराख्ने, यात्रुले सडकको जथाभावी र समूहमा भए सडक ढाकेर यात्रा गर्ने र सडकमा छाडा चौपायाको कारणले हुने गरेको पोखरेलले बताए । 'राजमार्गसँगै टाँसिएर बस्ती बस्नु दुर्घटनाको मुख्य कारण हो', पोखरेलले भने, 'अन्य कुनै पनि मुलुकमा राजमार्गको छेउ किनारामा बस्ती हँुदैनन् ।' सवारीसाधनको गति पत्ता लगाउने यन्त्र र जनशक्ति कमीका कारणले कारबाही प्रक्रिया प्रभावकारी बनाउन नसकिएको जनाउँदै पोखरेलले दुर्घटना कमी गराउन बढी दुर्घटना हुने स्थलमा जनचेतनामूलक र ट्राफिक संकेतसहितका होर्डिङबोर्ड टाँसेर राखिएको बताए ।
अव्यवस्थित सडकको मार
बुटवल- जीर्ण सडकका कारण सवारी दुर्घटना रोक्न नसकिएको एक अध्ययनले देखाएको छ । दुर्घटनाविरुद्ध चलाइएका अभियान प्रभावकारी नभएको उल्लेख छ । पश्चिम क्षेत्रीय ट्राफिक कार्यालयले गरेको अध्ययनअनुसार ट्रयाक मात्रै खोलेका सडकमा सवारी चलाउने, सडक महिनौंसम्म मर्मत नगर्नाले दुर्घटना वृद्धि भएका हुन् । कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवले भने, 'लामो राजमार्ग क्षेत्र पर्ने, पैदलयात्रु र सडक यात्रुलाई छुट्टै सडक नहुने, सडकको अतिक्रमणले पश्चिमाञ्चलमध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बढी सवारी दुर्घटना भएका छन् ।'
तथ्यांकअनुसार पश्चिमाञ्चलमा ११ हजार ४ किलोमिटर सडक क्षेत्र छ । यसमध्ये २० प्रतिशत अर्थात् २ हजार १ सय ४३ किलोमिटर मात्र पक्की सडक छ । १५ प्रतिशत अर्थात् १ हजार ६ सय ८९ किलोमिटर क्षेत्र ग्राभेल छ । सबैभन्दा असुरक्षित मानिने कच्ची सडक ६५ प्रतिशत अर्थात् ७ हजार १ सय ७२ प्रतिशत छ । ६ वर्ष अघिदेखि दुर्घटनाविरुद्ध चालक तथा सहचालकलाई दुर्घटना न्यूनीकरण अभियान चलाएका पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवनकुमार बन्जाडे सडकको अवस्था नसुध्रेसम्म सवारी दुर्घटना कम नहुने बताउँछन् । 'चालकका कारण हुने दुर्घटना रोक्न नियमित ट्राफिक प्रशिक्षण दिएका छौं । पुराना साधन विस्थापन गरेका छौं ।' उनले भने, 'सडककै कारण दुर्घटना घटाउन भने सकिएन ।' दुर्घटना रोक्न सडकको क्षमताभन्दा बढी सवारी ल्याउनै नदिन पनि आवश्यक रहेको उनले बताए ।
Ekantipur

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home