काठमाडौं, भदौ २२– सिन्धुपाल्चोकमा पहिरोले थुनिएको सुनकोशी नदीमा बनेको कृत्रिम ताल फुटेको छ । गएरातिको वर्षासँगै तालको बाँध फुटेको र पुरानै ठाउँबाट पानी निकास भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार ताल बनेको पानी एकैपटक बग्दा राती नदीमा ठूलो पानी बगेको थियो ।
अहिले जोखिम त्यति नरहेको तर उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । नदीमा विहानको तुलनामा पानीको सतह घट्टै गएको छ । तल्लो क्षेत्रका बासिन्दा सुरक्षित ठाउँमा सरिसकेका उहाँले जानकारी दिनुभयो । विहान एकै पटक पानीको बहाव बढ्दा नदी छेउछाउमा राखिएका ५ ÷६ वटा मोटरसाइकल र ताल खोल्न प्रयोग गरिएको सेनाको एउटा स्काभेटर बगाएको छ ।
कृत्रिम ताल बन्दा छोपिएका संरचना देखिएका छन् । गएको साउन १७ गते पहिरोका कारण सुनकोशी नदी थुनिंदा ताल बनेको थियो । तालबाट पानीको निकास फुटाउन नेपाली सेनाले विष्फोट गराउँदै आएको थियो । विष्फोटका कारण कमजोर भएको बाँध भारी वर्षासँगै फुटेको प्रहरीको अनुमान छ ।
तस्विर साभार: कपिल धितालकाे ट्वीटरबाट
No comments :
Post a Comment