Ujyaalo Online
बबई नदीमा आएको बाढीले बर्दियाको बनियाभार, मगरागडी, पदनाहा, बगनाहा, नेउलापुर, मोहम्मदपुर गाविस सहित सदरमुका गुलरीया नगरपालिका डुबायो ।
कर्णाली नदी र ओराही खोलामा आएको बाढीले शिवपुर, ठाकुरद्धारा र सूर्यपटुवा गावि सहित राजापुर क्षेत्रका गाविस पनि डुबानमा परे । हजारौं घर बगायो, कयौं भत्किए । बाढीले ३० जनाको ज्यान गयो । १६ जना भन्दा बढी अझै हराइरहेका छन् । बाँच्नेहरुलाई पनि सास धान्न गाह्रो छ ।
खाने बस्ने ठेगान नहुँदा बाढी पीडितको बिचल्ली भएको छ । यस्तै परेकी बनियाभार गाविस ६ बेल्वाबज्याकी सुमित्रा थारुसंग उज्यालो अनलाइनका लागि बर्दिया सहकर्मी भावुक योगीले गरेको कुराकानी:
बाढी आएको दिन सम्झिँदा कस्तो लाग्छ ?
सम्झिने हो भने त रुन मन लाग्छ, सपना हो की जस्तो लाग्छ । सुतेकै थियौं विहानपख अँध्यारो थियो । घरभित्र एक्कासी बाढी पस्यो । बाहिर निस्केको त छाती पुग्ने पानी थियो ।
कसरी बच्न सफल हुनुभयो ?
के गरौं, के गरौं भयो । हतार हतार बालबच्चा लिएर नजिकैको स्कुलतिर गयौं । स्कुल हाम्रो घर भन्दा अलि उचो ठाउँ थियो । त्यहीँ स्कुलको छतमा गयौं र बच्यौं । हामी त नजिकै थियौं र बच्यौं । गाउँका कति मान्छे रुखमा र घरको छतमा बसेका थिए । पछि कोहीलाई पुलिसले, गाउँलेले र कसैलाई हेलिकप्टरले बचायो । एउटा घरको छतमा बसेका ९ जना त बगेरै गए ।
बाढीले के के क्षती गर्यो तपाईंको ?
सबै लग्यो नि । घर सबै भत्काइदियो । घरभित्र रहेका धान, चामल, गँहु सबै भिजाइदियो । लुगा, भाँडा सबै बगायो । धान त उम्रिएको छ अहिले । भिजेको चामल र गहुँ छ । घाममा सुकाएर खाइरहेका छौँ । अरु केही पनि बचेन ।
कहाँ बस्नुभएको छ अहिले ?
स्कुलमा बसिरहेका छौैं । दिउँसो एकछिन घरमा गएर चामल, गहुँ निकालेर घाममा सुकाउँछौँ । छिमेकीको घरमा बचेको लुगा र घरको काठ निकाल्छौं ।
के के खान पाउनुभएको छ ?
के खान पाउनु । सुरुमा भोलिपल्ट सरकारले दिएको एउटा विस्कुट र अलिकति चिउरा खाईयो । अनि शिवीरमा भात र दाल खान्छौँ । कहिले त नुन खुर्सानी र भात खान्छौँ ।
कसले दिएको छ भात र दाल खान ?
हामीलाई गाउँकै मान्छेले सामुदायिक वनबाट र बाढी नगएको घरकाले चामल दाल ल्याएर खुवाएका छन् । अब त सरकारले दिन्छ भनेपछि त्यो पनि दिन छाडे । भिजेको चामललाई सुकाएर गिलो भात माड मनाएर नुन हालेर खान्छौँ । अब स्कुलबाट पनि निस्कनुपर्ने भो ।
सरकारले अहिलेसम्म के दियो ?
सरकारले दुई जना बराबर एक गिलास चिउरा र एउटा विस्कुट दिएको थियो । अहिले आजै हो यति चामल दिएको एक जनालाई आधा किलो पनि छैन ।
एक जनालाई ३ सय ५० ग्राम चामल, ६० ग्राम दाल, एक चम्चा नुन र ४ एमएल तेल दिएको छ, यसले पुग्छ त ?
हामी ११ जना छौँ घरमा । यो चामलले एक छाक पनि मुश्किल पर्छ खान । आज बाढी आएको ९ दिन भइसक्यो अहिलेसम्म त गाउँलेले खान दिए । अनि भिजेको चामलको माड बनाएर पनि खायौँ । अब त केही पनि छैन । अब त मरिन्छ कि क्या हो खान नपाएरै । अहिले लाग्छ बाँच्नु भन्दा त त्यै बाढीले बगाएर लगेको भए आनन्दै हुन्थ्यो ।
यति थोरै लिंदैनौं भन्नुभएन ?
अब के गर्ने अलि धेरै दिन्छ होला भनेको यति मात्र दियो । कति पनि नहुनु भन्दा एक छाक टर्छ कि भनेर लिनै पर्यो ज्यान बचाउनै पर्यो ।
पानी कहाँको पिइरहनुभएको छ ?
अहिले यो स्कुलको पिउँछौं । भत्केको घरमा सामान लिन जाँदा आफ्नै धाराको पानी खान्छौँ ।
अनि यो पानी त दुषित छ नि ?
दुषित त छ थाहा छ अब के गर्ने जस्तो पो होस खानै पर्यो ।
उमालेर पनि पिउन सकिन्छ नि ?
कहाँ उमाल्ने । न भाँडा छ न दाउरा छ ।
जिल्लाबाट वाटरगार्ड, पियुस केही दिएको छैन ?
केही पनि दिएको छैन ।
सरकारलाई के भन्नुहुन्छ ?
सरकारले दिएको एउटा विस्कुट र चिउराले केही हुन्न । जसरी पेटभरी गाउँलेले खान दिए त्यसरी दिनुपर्यो । अनि शिविरमा बसेका छौँ । घर छैन । घरमा भएको धान, चामल, र गहुँ अनि लगाउने लुगा, बिछाउने कपडा, खाना पकाउने भाँडाकुँडा सबै बगेको छ । गाँस, बास र कपासको व्यवस्था गर्नुपर्यो सरकारले ।
No comments :
Post a Comment