नुवाकोट : जिल्लाको उत्तरपूर्वी भेगमा रहेको रालुकादेवी गाविसमा खेतमा काम गर्ने क्रममा जंगली च्याउ खाँदा १४ जना सिकिस्त बिरामी परेका छन्।
सदरमुकाम विदुरदेखि ४१ किलोमिटर पूर्वमा पर्ने रालुकादेवी गाविस ३ मा बुद्धिमान तामाङको खेतमा काम गर्ने क्रममा खेतालाले जंगली च्याउ पकाएर खाँदा दुई परिवारका १४ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। त्यसमध्ये २६ वर्षीया सिर्सानी तामाङको अवस्था गम्भीर भएपछि नलाई शनिबार बिहान काठमाडौं लगी वीर अस्पतालमा उपचार सुरु गरिएको जानकारी प्रहरी निरीक्षक कुशनकुमार बस्नेतले दिए।
जंगली च्याउ खाएर बिरामी परेकामा खेतधनी २८ वर्षीय बुद्धिमान, गम्भीर बिरामी सिर्सानीकी ८ वर्षीया छोरी सविता, ६ वर्षीया छोरी मनमायासहित १४ जना छन्। यस्तै जंगली च्याउ खाएर सिकिस्त बिरामी परेकामा स्थानीय मंगलबहादुर तामाङकी पत्नी ५८ वर्षीया मरविन्दा तामाङ, १८ वर्षीया सूर्यमाया तामाङ, २६ वर्षीय कमल तामाङ, १७ वर्षीया हीरामाया तामाङ, तीन वर्षीय अमित तामाङ, आठ वर्षीया अस्मिता तामाङ, १५ वर्षीया मनमाया तामाङ, आठ वर्षीय पासाङ तामाङ र तीन वर्षीय साजन तामाङ रहेको नुवाकोट प्रहरीले जनाएको छ।
सबैजनाले खेतमा काम गर्ने क्रममा जंगलबाट रूखमा रहेको उ ल्याएर शुक्रबार साँझ खाएपछि एकैपटक बिरामी परेको सथानीयले बताएका छन्। १३ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ।
No comments :
Post a Comment