
विवाहकै लागि हेलिकप्टर चार्टर गरेर नायक राजेश हमाललाई सर्लाही बबरगन्जस्थित गाउँ पुर्याएपछि हेयरस्टाइलिस्ट सुरेन्द्र ठाकुर एकाएक चर्चामा आए। काठमाडौंका दुई स्थानमा आकर्षक सैलुन खोलेर सेवाप्रदान गर्दै आएका २८ वर्षीय युवा ठाकुरले नायक राजेश हमाललाई आफ्नो विवाहमा बोलाएर स्थानीयवासीमाझ मात्र नभै मुलुकभर आफूलाई परिचित गराए।
आफ्नो विवाहमा राजेश हमाललाई निम्त्याउने लामो समयदेखिको सपना साकार पार्न सुरेन्द्र हेलिकप्टरको व्यवस्था गर्नसमेत पछि परेनन्। धेरैलाई लहड लागे पनि सुरेन्द्र भने आफ्नो अभिभावक सम्झिएर राजेशलाई निमन्त्रणा गरेको बताउँछन्।
३ 'ह' अर्थात् हमाल, हेलिकप्टर र हल्ला यो साता नेपाली चलचित्रमा चर्चाको विषय बने। केही नेपाली चलचित्रकर्मीको विवाह जस्तै एक हेयर स्टायलिस्टको विवाहको खबरले पनि यो साता मिडियामा केही स्थान पायो। असार २० गते शुक्रबार बिहान करिब ११:२० बजे अभिनेता राजेश हमाल एयर डाइनेस्टीको हेलिकप्टरबाट नाई सुरेन्द्र ठाकुरको विवाहका लागि सर्लाहीको बबरगंजतर्फ उडे।
६ सिट क्षमताको उक्त हेलिकप्टरमा सवार हमालका लागि यो यात्रा नौलो नभए पनि सोही हेलिकप्टरमा सवार अरूका लागि भने नौलो थियो। सायद त्यही भएर पनि होला, हेलिकप्टरले भुइँ छोड्दा चसक्क भएको मन केहीबेरको आनन्दित यात्रासँगै पुन: बल्झियो जब अभिनेता हमालले भने, 'फर्किनु पर्ला जस्तो छ।'
हेलिकप्टरको रुट र मौसमसँग पूर्ण जानकारीको अभाव भएरै होला उडेको केहीबेरपछिको सिमसिमे पानी र डाँडाको वरपर मडारिएका बादलसँग भएको हेलिकप्टरको लुकामारीका कारण हामी सञ्चारकर्मी मात्र होइन हमालको अनुहारको चमक पनि केही खस्किएको थियो।
डर कसलाई लाग्दैन र ? हामीभन्दा कैयौं बढी उडान गरेका क्याप्टेन सुरज थापाले पनि डाँडामाथिको त्यो कालोबादल छेड्ने आँट गरेनन् र जंगलमा भौतारिएको यात्रीझै अनेकौं गौंडाहरूबाट वैकल्पिक बाटो रोज्दासमेत सुरक्षित महसुस नभएपछि आकाशको चरोले रूखको हांगामा खुट्टा अड्याएझैं क्याप्टेन थापाले हेलिकप्टरलाई एउटा खोलाको किनारमा देखिएको फुटबल चौरमा अड्याए।
शायद पहिलो पटक यस्तो हेलिकप्टरले यसरी उक्त चौरमा खुट्टो अड्डयाएको देखेर गाउँ वरपरका दर्जनौं महिला/पुरुष र बालबालिका हेलिकप्टरतर्फ झुम्मिए। अघिल्लो सिटमा रहेका अभिनेता हमाललाई अभिवादन गर्दै नजिकिएका गाउँलेहरूबाट थाहा भयो कि त्यो ठाउँ सिन्धुलीको क्यानेश्वर गाउँ विकास समिति रहेछ।
नेपाली चलचित्रका मात्र होइन अभिनेता राजेशका पनि असली फ्यान थिए ती स्थानीयबासी, तिनैसँगको केहीबेरको अन्तरक्रियापछि क्याप्टेनले पुन: एकपटक आकाशमा अघि बढ्ने प्रयास गरे। आकाशका अनेकौं घुम्ती यसरी घुमेको पहिलो अनुभवसँगै निकैबेरपछि जब जमिनमा बागमती सिँचाइ आयोजनाको बाँधस्थल आँखाले ठम्यायो तब आफूलाई सुरक्षित मात्र मानिएन गन्तव्यमा पुग्ने विश्वास पनि बढेर गयो।
यात्राका क्रममा हामी जति त्रसित थियौं त्योभन्दा बढी त्रासदी विवाह घरमा भैसकेको रहेछ, किनभने ११:२० मा उड्यौं भनी फोनमा आएको खबर ३५ मिनेटको हवाई यात्राका लागि, आखिर किन यति समय लाग्यो कतै....।
उक्त शंका गलत निस्कियो जब बबरगंजको आकाशमा हेलिकप्टर ल्यान्ड गरी हामी सबै दुलहा सुरेन्द्र रहेको ठाउँमा पुग्यौं र जसरी अभिनेता हमालको सम्मानमा फूलका माला र तालिका पर्रा छुट्टे त्यससँगै दुलहा सुरेन्द्रको मुहार पनि उज्यालो देखियो।
प्राय: सबै ठाउँमा जस्तै हमालले त्यहाँ रहेको माइक समाते र भने कस्तो छ तपाईंहरूलाई ? सञ्चै हुनुहुन्छ ? तालि र हुटिङसँगै टाउको हल्लाएर हमालको प्रश्नको उत्तर दिएका बबरगंजबासीसँगको करिब ५० मिनेटको बसाइपछि हामी पुन: काठमाडौंका लागि उड्यौं आकाशमा उडेको करिब १५ मिनेटपछि फेरि थाहा भयो त्यो आकाशमा मडारिएको कालोबादलले फेरि हाम्रो बाटो छेकिसकेको रहेछ उक्त बादल छिचोल्ने अनेकौं प्रयास बिफल भएपश्चात क्याप्टेनले मकवानपुरको शिखरपुरमा एउटा फुटबल चौर देखेपछि फेरि हेलिकप्टर त्यही अड्याइदिए।
झन्डै २ वर्षअघि अग्नि एयरको विमान दुर्घटना भएको नजिकको स्थान भएर होला स्थानीयबासीले हस्याङ-फस्याङ गर्दै हेलिकप्टरको घेरा हाले। अँध्यारो अनुहार लगाएर हेलिकप्टरतर्फ अघि बढेका स्थानीयबासीले जब राजेश हमाललाई देखे तब आश्चर्यमा मात्र परेनन् उनकै तस्बिर खिच्न धमाधम मोबाइल फोनका क्यामरा अन गरे।
बिहान खाएको खाना एवं विवाहको भोजमा खाएको फलफूल र २ टुक्रा मिठाईले शायद सबैको पेटबाट ठाउँ छोडिसकेको थियो। त्यही भएर पनि हेलिकप्टर जमिनमा अडिनासाथ नजिक आएका गाउँलेहरूसँग सबैले एकै स्वरमा सोध्यौं केही खान पाइँदैन यहाँ ? गाउँ अलिकति पर छ ?
खानका लागि हरियो मकै नै आँखा अगाडि आयो र गाउँलेले केहीबेरमै पोलेर ल्याउने तयारी गरे। झन्डै-झन्डै आधा घन्टा नाघी सक्दासमेत मकै नआएपछि साह्रै भोकाए छन् क्यारे हमाल पनि चुलोसम्मै पुगेर मकै पोलेको गतिविधि नियाली ढिलो हुने बुझेर सबै हेलिकप्टरतर्फ लाग्यांै। करिब-करिब आशामारिसकेको पोलेको मकै हेलिकप्टर उडाउने तयारी गर्नै लाग्दा आइपुग्यो र त्यहीबेला मकै हेर्दा मनमनै लाग्यो नखाउ भने दिनभरिको सिकार खाउ भने....। मकैको अवस्था हेर्दा लाग्थ्यो २५ प्रतिशत पोलिएको मकै बाँकी काँचै थियो तर पनि लाग्यो 'भोजनभन्दा भोकै मीठो'।
हामीले सुन्दै अनि देख्दै आएका थियौं हमाल सुटिङकै सेटमा पनि बेग्लै खाना खान्थे र अरूभन्दा छुट्टै बसेर खान्थे तर आजका हमाल भने फरक थिए, हामीले त मकै हातैले छोडाएर खायौं हमालका दाँत पनि बलियै रहेछन्, मकै छोडाउन उनले हातको सहारा लिएनन बरु दाँतैले मकैको घोघा थोते बनाए।
त्यहीबीच गाउँलेहरूले करिब १० वटा जति लोकल कुखुराको अण्डा पनि उसिनेर ल्याइदिए तर क्याप्टेनले मौसम खुले जस्तो छ भने पछि भोक सहेरै भए पनि हामी उडानतर्फ लाग्यौं। फेरि पनि दुर्भाग्य नै भनौं मौसमले साथ दिएन र फेरि पनि आकाशमै अनेकौं बाटाहरू खोज्ने प्रयास क्याप्टेनले गरिरहँदा काठमाडौंको दूरी निकै लामो हुँदै थियो। जसोतसो क्याप्टेनले हेलिकप्टरबाटै भए पनि काठमाडौंको कंक्रिट बस्ती देखाए। त्यतिबेला हामी झन्डै-झन्डै फर्पिङ नजिक पुगिसकेका रहेछौं, अब काठमाडौं उत्रने पक्का भएपछि हमालले पनि भोक सम्झिए छन् क्यार। अघि हेलिकप्टरको अगाडि राखिएको अण्डामध्येबाट एउटा अण्डा निकाली पछाडि दिँदै खाने भनी इशारा गरे विचारा हमाल कसरी थाहा पाउन उनले जसलाई इशारा गरे उनी साकाहारी हुन् भन्ने कुरा ! नखाने भनी मुन्टो हलाइए पछि राजेशले बुझे पछाडि बसेका कसैले नखाने रहेछन्। त्यसपछि त हामीले मात्र होइन हमालका सहायक दीपेन्द्र महतोले पनि अण्डा खाने आशा मार्नुपर्यो।
यिनै केही त्रासदी र रमाइलो अनुभवसँगै अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका मात्र के थियो हमालले भने १ घन्टाका लागि हेलिकप्टर बुक गरिएको भए पनि आज १५ लाखबराबरको हेलिकप्टर चढियो होला।
हमालको बोली भुइँमा खस्न नपाउँदै एकजना अनलाइन पत्रकार साथीले फोन गरेर यात्राका बारेमा जिज्ञासा राख्दा यिनै कुरा भन्न मात्र के भ्याएका थिए केहीबेरमै समाचारको हेडलाइन बनेछ- १५ लाखको हेलिकप्टर चढेर हमाल सर्लाही पुगे। त्यतिमात्र होइन खराब मौसमका बीच क्याप्टेनले जबर्जस्ती नै भए पनि मकवानपुर पुर्याएको भन्दा पत्रकार मित्रले के सुने कुन्नी हमाललाई जबरजस्ती मकवानपुर लगियो भनेर त्यसैलाई समाचारमा समेत उल्लेख गरे।
न्युज ब्रेक गर्ने ट्रेन्ड चलिरहेका बेला सोही अनलाइनको समाचारलाई तोडमोड गरी लाइभ रिपोर्टिङझै बनाउन खोज्दा अन्य केही अनलाइनले समेत हमालको यो यात्राका मनगढन्ते कुरा लेखिरहे अनि मैले जान्दै नजानेको एउटा अनलाइनमा त समाचारै आयो प्रदीप निरौलाले यसो भने भनेर। यसरी हमालको यात्राका अफवाहहरू फैलिरहँदा यो चर्चामा मिसिएर राम ठाकुर पनि आइपुगे अनि उनले समेत भनिदिए हमालको निजी ठाकुर त म हो सुरेन्द्र होइन। राम पनि हमालकै नाई हुन तर के हमालको केशमा आजसम्म रामले मात्रै कैंची चलाएका छन् ?
प्रदीप निरौला
(लेखक सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक हुन्)
हमाललाई हेलिकप्टर निम्तो
विवाहकै लागि हेलिकप्टर चार्टर गरेर राजेश हमाललाई सर्लाही बबरगन्जस्थित गाउँ पुर्याएपछि हेयरस्टाइलिस्ट सुरेन्द्र ठाकुर एकाएक चर्चामा आए। काठमाडौंका दुई स्थानमा आकर्षक सैलुन खोलेर सेवाप्रदान गर्दै आएका २८ वर्षीय युवा ठाकुरले राजेश हमाललाई आफ्नो विवाहमा बोलाएर स्थानीयवासीमाझ मात्र नभै मुलुकभर आफूलाई परिचित गराए। आफ्नो विवाहमा राजेश हमाललाई निम्त्याउने लामो समयदेखिको सपना साकार पार्न सुरेन्द्र हेलिकप्टरको व्यवस्था गर्नसमेत पछि परेनन्। धेरैलाई लहड लागे पनि सुरेन्द्र भने आफ्नो अभिभावक सम्झिएर राजेशलाई निमन्त्रणा गरेको बताउँछन्।
पछिल्ला केही वर्षयता नायक हमालसँगको सम्बन्धले पनि उनलाई विवाहमा हमालको उपस्थिति अपरिहार्य लागेको हो, सुरेन्द्रले भने- 'राजेश दाइको हेयरकटका निम्ति म धेरै पटक उहाँको घरमै पनि पुगेको छु, उहाँ सबैले मन पराउने हिरो त हो नै, मेरो अभिभावक पनि हुनुहुन्छ, त्यसैले मैले विवाहमा जसरी भए पनि उहाँको उपस्थिति आवश्यक सम्झिएँ।' त्यसो त हमाल पनि सुरेन्द्रकोे शिल्पबाट प्रभावित थिए, सुरेन्द्रले हेलिकप्टरको व्यवस्था गर्ने कुरा सुनाएपछि अरू सेड्युअल एकातिर सार्दै हमाल बबरगन्ज जान तयार भए। सुरेन्द्रलाई आशीर्वाद दिने क्रममा हमालको खुसी प्रस्ट झल्किन्थ्यो। धेरैले राजेश हमाल हेलिकप्टर बुक गरेपछि विवाहमा जान तयार भएको कुरा बुझिरहेका बेला हमालले भने सुरेन्द्रसँगको आत्मीय सम्बन्धका कारण उनको विवाहमा सरिक भएको बताएका छन्।
केही समयअघि हमालको विवाहमा सञ्चारकर्मीहरूलाई समेत रोक लगाइएका बेला सुरेन्द्र बेरोकतोक विवाहस्थलमा आवतजावत गरिरहेका देखिन्थे। विवाहकै दिन पनि हमालको हेयरकट र अन्य सेवा प्रदान गरेका सुरेन्द्रले भने- 'म अत्यन्तै खुसी छु, मैले राजेश दाइलाई विवाहमा सरिक गराउन चाहेको थिए, मेरो सपना पूरा भएको छ।'
सिभिलमल तथा कुमारीपाटीमा सुपरकट सैलुन सञ्चालन गर्दै आएका हेयरस्टाइलिस्ट सुरेन्द्रले आफ्नो विवाहमा सर्लाही जान हेलिकप्टरको व्यवस्था गरेको कुरा सुनाउँदा धेरैलाई आश्चर्य पनि लागेको थियो।
एउटा जर्बजस्त फ्यान वा नायक हमालसँग नजिकको सम्बन्ध भएको व्यक्तिले आफ्नो विवाहका लागि हेलिकप्टर नै चार्टर गर्नु त्यति आश्चर्यको कुरा भने होइन, तर नेपालमा यस प्रकारले कसैले विवाहकै लागि चर्चित सेलिब्रेटीलाई बोलाएको कुरा भने नौलो थियो। धेरैले अचम्म मान्नुपर्ने कुराचाहिँ हेलिकप्टर चार्टर गर्न महंगो हुनुनै थियो। हेयरस्टाइलिस्ट सुरेन्द्रले १ लाख ६० हजार रुपैयाँ खर्चिएर भए पनि महानायकलाई आफ्नो विवाहमा सरिक गराउन उपयुक्त माने। त्यहाँ राजेश हमालको स्टारडमले पनि काम गरेको थियो। फ्यानभन्दा पनि अभिभावक मानेर सुरेन्द्रले हमाललाई निम्त्याएको विवाहस्थलमा उपस्थित सबैले देखे। विवाहस्थलमा राजेशलाई पटक पटक ढोग्दै सुरेन्द्रले आशीर्वाद लिए।
विगत १० वर्षदेखि काठमाडौंमा हेयर डिजाइन एवं कटिङको पेसा अपनाउँदै आएका युवा हुन्, सुरेन्द्र ठाकुर। धन भएर भन्दा मन भएर हेलिकप्टर खर्च गरेको सुरेन्द्र बताउँछन्। त्यसो त पछिल्ला केही वर्ष यता दुईवटै स्थानको व्यवसाय रामै्र भएकाले पनि विवाहमा मन खोलेर खर्च गरेको उनी निर्धक्क बताइरहेका थिए। सुरेन्द्रको विवाहमा हमाललाई देखेर स्थानियवासी पनि दंग थिए। राजेश हमालसँग तस्बिर खिचाउन चाहनेहरूको लावालस्कर बढ्दै गएपछि प्रहरीले रोक्नुपरेको थियो।
No comments :
Post a Comment