हाम्रो गाउँ हाम्रो गौरब ::OUR KHAYARMARA OUR PRIDE::KHAYARMARA MAHOTTARI NEPAL

सूचना मनोरंजन मा समर्पित

सूचना मनोरंजन मा समर्पित
My Blogger TricksAll Blogger TricksTechtunes
Powered by Blogger.
सूचना मनोरंजन मा समरप्रित
खयरमारा को पहिलो ब्लग

विज्ञानको तस्बिर

No comments :
Saptahik

'सायद म भोलि जन्मेर हिजो मर्नेछु...' 

विज्ञान साहित्य रच्नेहरू कल्पनाको त्यो जगत्मा पुग्छन्, जहाँ वस्तु शून्यता मात्र होइन समय शून्यता पनि हुन्छ । सायद त्यही भएर होला, विज्ञान साहित्यका साधक सरुभक्तले 'गेस्टिमेसन' कथामा माथिको हरफ लेखेको । 'विज्ञान कथा भाग १' मा यस्तै-यस्तै आश्चर्यजनक, रोमाञ्चक र मनमोहक वैज्ञानिक कल्पना गरेका छन्, यी लेखकले । यतिसम्म कि, एउटा कथामा छोराले बाउ पाउँछ र मान्छेको उमेर बढ्दै जानुको साटो घट्दै जान्छ ।  

नेपाली साहित्यमा विज्ञान कथा लेखिन थालेको ६ दशक भइसक्दा पनि यसमा कलम चलाउनेको सङ्ख्या न्यून छ । तिनै न्यूनमध्येका एक निरन्तर साधक हुन्- सरुभक्त । लेखक मात्र होइन, यसका पाठक पनि कम छन् । यसबारे अध्ययन-अनुसन्धान पनि कमै भएका छन् । हुनुपर्ने जति चर्चा भएको छैन ।  २०४३ सालमा 'इथरमा कोरिएको प्रेमपत्र' एकाङ्की लेखी विज्ञान साहित्य लेखन आरम्भ गरेका सरुभक्तले त्यसको अर्को वर्षदेखि विज्ञानकथा लेख्न थालेको पाइन्छ । उनका यसअघि नै 'एक अविनवको आत्मकथा', 'छोरी ब्रह्माण्ड', 'यामागल', 'पदार्थहरूको गीत' प्रकाशित भइसकेका छन् । 

'विज्ञान कथा भाग १' मा सरुभक्तका केही पुराना र केही नयाँ विज्ञान कथा सङ्कलित छन् । विज्ञानका विविध  शाखा र उपशाखाका विभिन्न विषयलाई कल्पना र कलाको जलप लगाएर सुन्दर कथा लेखेका छन् यिनले । यस संग्रहको  पहिलो कथा 'हेल्लो.....ल्होत्से....हेल्लो ?' ले अन्तरिक्ष यात्राको वर्णन गर्छ । यसमा एक नेपाली विश्वकर्माले अन्तरिक्षको साहसिक यात्रा गरी अन्तरिक्ष सम्मेलनमा भाग लिएको उल्लेख छ । 'समयको तस्बिर', 'फ्रान्केन्स्टाइन यात्रा' र 'समय सीमा' शीर्षकका कथामा पनि अन्तरिक्ष यात्राबारे लेखिएको छ । एउटै विषयका भए पनि प्रत्यक कथाको कल्पना र यात्रा प्रकार फरक-फरक छ ।

'हृदयको पाँचौं कोठा', 'टेस्टट्युब बाबु', 'पराधुनिक मानव-१', 'पराधुनिक मानव-२', 'अआयामिक', 'समानान्तर वक्ररेखाहरू', 'सम्पिडायग्नोसिस' र 'वर्णमाला' कथा चिकित्साशास्त्रका विषयमा आधारित छन् । यी कथामा कतै मान्छेको दीर्घ जीवनका कल्पना गरिएको छ । कुनैमा 'क्लोनिङ' पद्घतिबाट छोरोले बाउ जन्माउने अनौठो कल्पना छ । कतै महाभारतको पौराणिक कथालाई आधुनिक विज्ञानअनुसार बुनिएको छ । दूरदर्शनबाट रोगीको उपचार, रोबोट र मान्छेका अङ्ग साटफेरको कल्पना, जिनको नवीनतम अध्ययनका विषयलाई पनि सरुभक्तले यस संग्रहमा समेटेका छन् ।

रोबोटलाई लिएर लेखिएका 'सायद यो प्रेमको कथा हो/होइन', 'अक्सिजनबिनाको मान्छे', 'एउटा प्रेमको कथा जो घटित भएको छैन' र 'यामागल' कथा चाखलाग्दा छन् । 'विर्वतन-२', 'जीवाश्म शिलाको नाटक/कविता', 'गेस्टिमेसन' र 'सम्पिडायग्नोसिस' जस्ता प्रागएैतिहासिक विषयका विज्ञान कथा पनि रोचक छन् ।

यसमा समेटिएको 'क्रमशः वर्तमान' पृथ्वीको गर्भमा नयाँ यान्त्रिक समाज निर्माण गरिएको विषयमा लेखिएको सम्भावित सहरको कथा हो । 'सार्क मिसाइल' मौसम विज्ञानमा आधारित छ । 'यान्त्रिक वृक्ष' कथाले वातावरणीय विज्ञानको विषयलाई उठान गरेको छ ।

यी कथामा सरुभक्त नेपाली परिवेश र नेपाली पात्र प्रयोगमा रमाएका छन् । धेरैभन्दा धेरै नेपाली वैज्ञानिकहरूलाई पात्र बनाएर उभ्याएका छन् उनले । मानवीय पात्र, अतिमानवीय पात्र र यान्त्रिक पात्र (रोबोट) लाई स्थान दिएका उनले अन्य ग्रहीय जीव पात्रलाई भने समेटेका छैनन् यस सङ्ग्रहमा ।

वैज्ञानिक अन्तरदृष्टि विज्ञानकथाको मूल चुरो हो । विज्ञानमा आधारित द्वन्द्व विज्ञानकथाको मुख्य सम्पत्ति हो । 'एउटा प्रेमको कथा जुन घटित भएको छैन,' 'अक्सिजनबिनाको मान्छे', 'सायद यो प्रेमको कथा हो/होइन' जस्ता कथामा सरुभक्तले यस्तै द्वन्द्व र कौतूहलको राम्रो संयोजन गरेका छन् । 'सार्क मिसाइल', 'आदिम', 'अआयामिक' जस्ता  केही कथामा द्वन्द्व शिथिल छ, जुन यस संग्रहको कमजोर पक्ष हो । कतिपय आरम्भ, मध्य र अन्त्य संरचना शैलीका कथामा द्वन्द्व शिथिल हुँदा अलि अस्वाभाविक लाग्छ । 

शैली र संरचनामा विविधता हुनु यस संग्रहको विशेषता हो । उत्तरआधुनिक चिन्तन र विज्ञानका विभिन्न आयामका नौला प्रस्तुतिको सङ्गम बनेको छ, यो कथासङ्ग्रह । यसका धेरै कथा तृतीय पुरुष र केही प्रथम पुरुष दृष्टिबिन्दुमा आधारित छन् ।

नेपाली विज्ञानकथा इतिहासमा सरुभक्त दोस्रो चरणका आरम्भकर्तार् हुन् । ठोस विज्ञानकथा (हार्ड साइन्सफिक्सन) लेखेर नेपाली साहित्यको यस फाँटलाई नयाँ आयाम दिएका छन् यी कथाकारले । यो संग्रहमा पनि धेरै ठोस विज्ञानकथा समेटिएका छन् । त्यस्तै यसमा सरल विज्ञान कथाहरू पनि संग्रहित छन् । जसले सामाजिक र नैतिक परिणामलाई जोड दिन्छ । यस्ता कथाले विज्ञानको आलोचनाका साथै मानवीय भविष्यबारे प्रश्न उठाएको छ । 'अक्सिजनबिनाको मान्छे', 'एउटा प्रेमको कथा जो घटित भएको छैन', 'हृदयको पाँचौं कोठा', 'सायद यो प्रेमको कथा हो /होइन' जस्ता कथा यस धारमा लेखिएका छन् ।

विज्ञान र प्रविधिको विकासले समग्र मानव समाज र पृथ्वीलाई उन्नत र सुखी बनाउने धारणा यस संग्रहका धेरै कथाले राखेका छन् । केही कथा निराशावादी 'टोन' मा पनि छन् । समग्रमा यो संग्रह नेपाली विज्ञान कथाको संसार चियाउन मद्दत पुर्‍याउने एउटा सुन्दर झ्याल बन्न सफल छ । 



विज्ञान—कथा भाग १

विधा : विज्ञान कथासङ्ग्रह

लेखक : सरुभक्त

प्रकाशक : फाइन 

No comments :

Post a Comment

  • www.facebook.com/khayarmara.mahottari
  • our khayarmara our pride
  • website design by Your IT Solution

Dish Home

Dish Home