सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन । जसले दुर्घटना र त्यसबाट सिकार हुनेको संख्या बढेको बढ्यै छ । चितवनबाट विमल खतिवडा, बाराबाट लक्ष्मी साह, पर्साबाट शंकर आचार्य, रौतहटबाट शिव पुरी, भैरहवाबाट माधव ढुंगाना, कपिलवस्तुबाटमनोज पौडेल, बुटवलबाट अमृता अनमोल र हेटौंडाबाट प्रताप विष्टको रिपोर्ट :
पाँच वर्षअघि बुटवलको फूलबारीबाट वनभोज खाएर फर्किरहेका भरतपुर १२ स्थित हिल बर्ड आवासीय विद्यालयका छात्रछात्रा सवार बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मुकुन्दपुर ६ मा दुर्घटना हुँदा ४ शिक्षक, १८ विद्यार्थी र १ सहयोगीको मृत्यु भएको थियो । ६० विद्यार्थी घाइते भएका थिए । ४२ जना क्षमताको बसमा ८० भन्दा बढी सवार थिए । सिटको बीचमा लामा बेन्च राखेर विद्यार्थी कोचिएको थियो । त्यसबेला प्रहरीको अध्ययनअनुसार धेरै यात्रु र तीव्र गतिले बस खसेको थियो ।
मकवानपुरबाट राजधानी प्रवेश गर्ने हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा जिप दुर्घटनामा ३ वर्षअघि तत्कालीन वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटासहित २ को मृत्यु भयो । साँघुरो र जोखिमयुक्त मोटरबाटोबाट निजी जिप खस्दा देवकोटा र डा. राजेश पन्तको मृत्यु भएको थियो । भीमफेदी-कुलेखानी सडक खण्डको जुरिखेतमा जिप १ सय मिटर तल झरेको थियो । काठमाडौंबाट हेटौंडा आइरहेका बेला घटना भएको थियो । जोखिमयुक्त तथा साँघुरो मोटर बाटोमा पहिलोपटक जिप चलाएका चालकले भेउ नपाएर दुर्घटना भएको थियो ।
त्यस्तै मकवानपुरकै हेटौंडा-कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्डमा ५ महिनाअघि ट्याक्सी दुर्घटनामा ६ को मृत्यु भयो । चालक घाइते भए । काठमाडांैबाट हेटौंडा आइरहेको बा१ज३९९० नम्बरको भाडाको ट्याक्सी सडकबाट १ सय ५० मिटर तल खसेको थियो । यात्रु २ परिवारका थिए । दुर्घटनामा मोरङ्ग, बेतरिया ३ की ३५ वर्षीया दुर्गा पौडेल, उनका ११ वर्षीय छोरा प्रज्ज्वल, तीन वर्षीया छोरी प्राञ्जली, बहिनी दैलेख घर भई काठमाडौमा बस्ने २६ वर्षीया कुसुम बिष्ट, उनका १० वर्षीय छोरा उज्ज्वल, ४ महिनाकी छोरीको मृत्यु भएको थियो । गत असार २६ गते वीरगन्ज बाइपासअन्तर्गत बसपार्क चोकमा ना३ख ३१०० नम्बरको बसले बारा, दहियार ५ की ४५ वर्षीया पैदलयात्रु फूलमाया भक्तिलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भयो ।
त्यसको ३ दिनपछि ब्रम्हचोकनजिक ना३ख१०६९ नम्बरको बसले ना११प७०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा त्यसमा सवार स्थ्ाानीय ४० वर्षीया मोस्यिम नेशाको मृत्यु भयो । उक्त घटनाको २ दिनपछि असार ३२ गते रक्सौलबाट यात्रु बोकेर आउँदै गरेको ना१ह४३२ नम्बरको टेम्पोलाई तीव्र गतिमा पछाडिबाट आउँदै गरेको ना३ख३९२५ नम्बरको ट्रकले बाइपास नगवा चोक नजिक ठक्कर दिंदा सनाखत नभएका ६ वर्षीय नाबालकसहित २ टेम्पो यात्रुको मृत्यु भयो । ८ सख्त घाइते भए । उदाहरणबाट प्रस्ट हुन्छ, दुर्घटनाले धनी, गरिब, ठूलो र सानो पेसा भनेर विभेद गर्दैन । मुलुकका सहरी क्षेत्रका सडकको अवस्था बिजोग अवस्था छ । ग्रामीण सडक जीर्ण छन् । साँघुरा भत्केका सडकमा मनपरी सवारी हाँक्ने गरिएको छ । ट्राफिक नियम पालना हँुदैन । सवारीको गतिमा एकरूपता छैन । अधिकांश घटनामा चालकको लापरबाही मुख्य कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाएका छन् । बटुवा र हलुका सवारी चालकका कारण ठूला दुर्घटना हुने गरेका छन् ।
दैनिक दुर्घटना
चितवनमा बजार क्षेत्र बढी प्रभावित छ । सबैभन्दा धेरै भरतपुर ओरालोमा दुर्घटना हुने गरेको । तीव्र गतिमा सवारी गुडाउनाले जोखिम बढेको हो । चेपुवामा परेर आवजावत गर्ने सिकार बन्ने गरेका छन् । साइकल, स्कुटर र मोटरसाइकलमा ओहोरदोहोर गर्ने मारमा छन् । व्यस्त नारायणगढ-मुग्लिन सडक खण्डमा दैनिक दुर्घटना हुने गरेका छन् । सडक डिभिजन भरतपुरका अनुसार सडकको चौडाइ ५ देखि ६ मिटर छ । पहाडलाई खोपेर निर्माण गरिएकाले साँघुरो छ । घुम्ती बढी छन् । बीचबीचमा निर्माण गरिएका मोटरवेल पुलको संख्या बढी छ । जसले गर्दा दुर्घटना बढी हुने गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार एक वर्षको अवधिमा नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वीराजमार्गको मौवाखोलासम्मको भागमा ९१ वटा ठूला दुर्घटना भए । २९ जनाले ज्यान गुमाए । २ सय ५८ जना घाइते भए ।
सबैभन्दा धेरै ३२ ट्रक दुर्घटनामा परे । २५ मोटरसाइकल, २१ बस, १२ माइक्रो र एक एम्बुलेन्स दुर्घटनामा परे । यो सडकमा दैनिक ५ हजारदेखि ६ हजार ठूला साना यातायात गुड्छन् । यातायातका लागि ३ लेनको सडक आवश्यक छ तर यहाँ १ लेन सडक पनि पूरा छैन । जिल्ला प्रहरीका अनुसार ८२ जनाले ज्यान गुमाए । जसमा ६४ जना पुरुष, १२ जना महिला र ६ जना बालकको मृत्यु भएको हो । अधिकांश दुर्घटना चालकको लापरबाहीले गर्दा हुन्छ । 'दुर्घटना नभएको दिन हुँदैन,' जिल्ला प्रहरीका डिएसपी शान्तिराज कोइरालाले भने, 'तर मानवीय क्षति कम छ ।' उनका अनुसार दैनिक ५ देखि ७ दुर्घटना हुन्छन् । सडकको अवस्था, चालकको लापरबाही र अस्वस्थ प्रतिस्पर्धाले गर्दा दुर्घटना बढेको कोइराला बताउँछन् । त्यस्तै जथाभावी चालक अनुमतिपत्र वितरणले गर्दा समेत
दुर्घट्ना बढ्ने गरेको छ ।
कमजोर कानुन
दुर्घटनाबाट आर्थिक, भौतिक नोक्सानीले स्थिति भयावह हुँदा त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी प्रयास हुन सकेको छैन । दुर्घटना निम्त्याउने र कमजोरी गर्नेको हकमा राज्यले ट्राफिक प्रशासनलाई २ सयदेखि १ हजारसम्म्ा जरिवाना मात्र तोकेको छ । दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा १२ हजार धरौटीमा छुट्ने कानुनी व्यवस्था छ । जिल्ल्ाा प्रहरी बाराका अनुसार गत वर्ष ३५ वटा सवारी ज्यानको मुद्दा चलेको थियो । जसमा अधिकांश धरौटीमा रिहा भए । यसले दुर्घटना कम गराउने नभई बल पुगेकोे प्रहरी अधिकारी बताउँछन् । 'लाइसेन्स, सडकमा सांकेतिक ट्राफिक चिन्ह र जरिवाना प्रभावकारी नहुँदा दुर्घटना बढेको पाइन्छ', ट्राफिक प्रहरी निरीक्षक सन्तोष पाठकले भने, 'सडक विभाग तथा स्थानीय निकायको सडक मर्म्ातमा ध्यान नजानु, प्रहरी र ट्राफिकसँगै राज्यको कारबाही नीति फितलो भएकाले समस्या बढेको हो ।' दुर्घटना कम गर्न र सवारी चापबाट जोखिम घटाउन सवारीको व्यवस्थापन, सडकको निर्माण र मर्मत तथा गुणस्तर विस्तार गरी सडक नीति बनाएर ट्राफिक नियमलाई पाठ्यक्रमको विषयका रूपमा विकास गरिनुपर्ने उनले सुझाए । दुर्घटनाको तथ्याङ्क केलाउँदा सवारीको मेसिनरी गडबडी, ओभर लोड, साँघुरो सडक, मापसे, ट्राफिक नियम पालनालगायत अभावले अधिकांश दुर्घटना हुने गरेको छ । बारामा गत वर्षमा ९४ सवारी दुर्घटना भएका थिए । जसमा २८ ले ज्यान गुमाए भने २ सय घाइते भए ।
दुर्घटना दोब्बर
तीव्र गति, सवारी चालकको लापरबाही तथा सडकको दुरवस्थाका कारण पर्सामा सवारी दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै छ । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दोब्बर दुर्घटना भए । सदरमुकाम वीरगन्ज, सुख्खा बन्दरगाह परवानीपुर लिंक रोडमा अधिकांश सवारी दुर्घटना हुने तथ्यांकले देखाएको छ । बाइपास सडक, वीरगन्ज पथलैया सडक खण्ड र सुख्खा बन्दरगाह परवानीपुर लिंक रोडमा बढी भएको जिल्ला ट्राफिकले जनाएको छ । ज्यान गुमाउनेमा बढी मोटरसाइकल चालक छन् । उनीहरूलाई मालवाहक ट्रक/टि्रपर तथा बसले ठक्कर दिएको पाइएको छ । जिल्लाको ग्रामीण भेगमा पक्की सडक नभएकाले तुलनात्मक दुर्घटनामा ज्यान गुमाउनेको संख्या कम छ । आर्थिक वर्ष २०७०/०७१ मा जिल्लामा कूल १ सय २७ सवारी दुर्घटना भए । तिनमा २८ को मृत्यु भयो । मृत्यु हुनेमा १७ पुरुष, ५ महिला र ६ बालक थिए । त्यसैगरी दुर्घटनामा ८२ जना सख्त घाइते भएका थिए । अघिल्लो आर्थिक वर्षमा जिल्लामा ६६ सवारी दुर्घटनामा १४ को ज्यान गएको थियो । ट्राफिक प्रहरी नायब निरीक्षक भोलामानसिंह अधिकारी दुर्घटना दोब्बर बढ्नुमा कुनै एउटै कारण मात्र जिम्मेवार नरहेको बताउँछन् ।
चालकको लापरबाही
रौतहटमा पश्चिमबाट पूर्व आउँदै गरेको एक 'स्कुटी' बुधबार राति पूर्वपश्चिम राजमार्गको लमाह खण्डमा दुर्घटना हुँदा चालक पासाङ घिसिङ गम्भीर घाइते भए । तीव्र गतिका कारण दुर्घटनामा परेको ट्राफिकले जनायो । उनको राजधानीमा उपचार भइरहेको छ । रामजार्गमा हुने अधिकांश दुर्घटना चालकको लापबाहीले हुने गरेका छन् । सवारी चालकको लापरबाहीले दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी
निरीक्षक शिव मुखियाले जनाए । उनका अनुसार साउनदेखि भदौसम्म ६ दुर्घटना भए । ती दुर्घटनामा ३ जनाको मृत्यु भयो । १७ घाइते भए । उक्त अवधिमा ३ हजारलाई कारबाही गरेको जिल्ला ट्राफिकले जनाएको छ । चलकको लापरबाही, ट्राफिक नियम पालना नगर्ने, ओभरटेक, बाटो काट्ने यात्रुको लापरबाहीले हुने गरेको मुखियाले दाबी गरे । सडक खुला देखेर तीव्र गतिमा सवारी चलाउने गरेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनले जनाए । जिल्ला ट्राफिकले गत आर्थिक वर्षमा मात्र २२ हजार सवारीलाई कारबाही गरेको छ । उनीहरूबाट ५७ लाख ७४ हजार ९ सय ५० राजस्वसमेत असुलेको जनायो । त्यस वर्षमा २० जनाको मृत्यु भयो । ६१ यात्रु घाइते भएका थिए ।
मापसे जाँचले कमी
कपिलवस्तुमा नियमित मादक पदार्थ सेवन -मापसे) जाँच गर्न थालेपछि दुर्घटनामा कमी आएको छ । नेपाल र ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि कम भएका हुन् । गत आव ०७०/७१ जिल्लामा ४७ दुर्घटना भए । ४८ को मृत्यु भयो । आव ०६९/७० मा ५० सवारी दुर्घटना भए । ५० को मृत्यु भयो । तीव्र गतिमा सवारी चलाउनु मुख्य कारण भएको ट्राफिक प्रहरी
निरीक्षक वसन्त पाठकले बताए । २ वर्षअघि मापसेका कारण ५० प्रतिशत दुर्घटना हुने गरेका थिए । अहिले मुस्किलले ५ प्रतिशत हुने गरेको छ । राति चालक निदाउँदा र छाडा चौपायाका कारण हुने गरेका छन् । मापसे जाँचलाई नियमित बनाएपछि दुर्घटना धेरै नियन्त्रणमा आएको उनले बताए । राजमार्गमा न्यूनतमदेखि अधिकतम कति गतिसम्म सवारीसाधन सञ्चालन गर्ने नीति बनाउनु आवश्यक रहेको ट्राफिक हवल्दार जितबहादुर बिसीले बताए । सीमित ठाउँमा सडक कार्यालयले चलाउने गति निर्धारण गरे पनि ८० प्रतिशत ठाउँमा सीमा नतोकिँदा दुर्घटना हुने गरेको छ ।
गम्भीर प्रकृतिका धेरै
रुपन्देहीमा बढ्दो सहरीकरण, चालक र यात्रुमा ट्राफिक चेतना कमीले गम्भीर प्रकृतिका दुर्घटना बढेका छन् । जिल्ला ट्राफिकका अनुसार आव २०७०/०७१ मा जिल्लामा भएका ६२ दुर्घटनामा ४२ ले ज्यान गुमाए । तिनमा ४१ पुरुष, ७ महिला र ४ बालबालिका थिए । ५१ जना गम्भीर घाइते भए । गत साउनमा भएका ४ दुर्घटनामा १ पुरुष र १ बालिकाले ज्यान गुमाए । यो तथ्यांक बुटवल नगर क्षेत्र, देवदह, शंकरनगर, मणिग्राम र करैयाबाहेकको क्षेत्रको हो । बालबालिकाको मृत्यु सडक पार गर्ने क्रममा ठक्करबाट हुने गरेको छ । 'सवारीसाधन चलाउँदा चालक सचेत छैनन् भने यात्रुको लापरबाही पनि उत्तिकै छ', ट्राफिक प्रहरी निरीक्षक नवराज पोखरेलले भने, 'चालक, यात्रु र सर्वसाधारणमा ट्राफिक जनचेतना कमी छ ।' चालकले सवारीसाधन चलाउँदा धूमपान गर्ने, एउटा हातले मोबाइलमा कुरा गर्ने, सँगै सिटको वा यात्रुसँग गफ गर्ने र ट्राफिक संकेतका बारेमा जानकारी नराख्ने, यात्रुले सडकको जथाभावी र समूहमा भए सडक ढाकेर यात्रा गर्ने र सडकमा छाडा चौपायाको कारणले हुने गरेको पोखरेलले बताए । 'राजमार्गसँगै टाँसिएर बस्ती बस्नु दुर्घटनाको मुख्य कारण हो', पोखरेलले भने, 'अन्य कुनै पनि मुलुकमा राजमार्गको छेउ किनारामा बस्ती हँुदैनन् ।' सवारीसाधनको गति पत्ता लगाउने यन्त्र र जनशक्ति कमीका कारणले कारबाही प्रक्रिया प्रभावकारी बनाउन नसकिएको जनाउँदै पोखरेलले दुर्घटना कमी गराउन बढी दुर्घटना हुने स्थलमा जनचेतनामूलक र ट्राफिक संकेतसहितका होर्डिङबोर्ड टाँसेर राखिएको बताए ।
अव्यवस्थित सडकको मार
बुटवल- जीर्ण सडकका कारण सवारी दुर्घटना रोक्न नसकिएको एक अध्ययनले देखाएको छ । दुर्घटनाविरुद्ध चलाइएका अभियान प्रभावकारी नभएको उल्लेख छ । पश्चिम क्षेत्रीय ट्राफिक कार्यालयले गरेको अध्ययनअनुसार ट्रयाक मात्रै खोलेका सडकमा सवारी चलाउने, सडक महिनौंसम्म मर्मत नगर्नाले दुर्घटना वृद्धि भएका हुन् । कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवले भने, 'लामो राजमार्ग क्षेत्र पर्ने, पैदलयात्रु र सडक यात्रुलाई छुट्टै सडक नहुने, सडकको अतिक्रमणले पश्चिमाञ्चलमध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बढी सवारी दुर्घटना भएका छन् ।'
तथ्यांकअनुसार पश्चिमाञ्चलमा ११ हजार ४ किलोमिटर सडक क्षेत्र छ । यसमध्ये २० प्रतिशत अर्थात् २ हजार १ सय ४३ किलोमिटर मात्र पक्की सडक छ । १५ प्रतिशत अर्थात् १ हजार ६ सय ८९ किलोमिटर क्षेत्र ग्राभेल छ । सबैभन्दा असुरक्षित मानिने कच्ची सडक ६५ प्रतिशत अर्थात् ७ हजार १ सय ७२ प्रतिशत छ । ६ वर्ष अघिदेखि दुर्घटनाविरुद्ध चालक तथा सहचालकलाई दुर्घटना न्यूनीकरण अभियान चलाएका पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवनकुमार बन्जाडे सडकको अवस्था नसुध्रेसम्म सवारी दुर्घटना कम नहुने बताउँछन् । 'चालकका कारण हुने दुर्घटना रोक्न नियमित ट्राफिक प्रशिक्षण दिएका छौं । पुराना साधन विस्थापन गरेका छौं ।' उनले भने, 'सडककै कारण दुर्घटना घटाउन भने सकिएन ।' दुर्घटना रोक्न सडकको क्षमताभन्दा बढी सवारी ल्याउनै नदिन पनि आवश्यक रहेको उनले बताए ।
Ekantipur
No comments :
Post a Comment